खिकिरडाँगी सडक निर्माणमा गुणस्तरहीन कामको आरोप

मोरंग

मोरङको सुनवर्षी नगरपालिका–६ स्थित खिकिरडाँगी चोक हुँदै पथरी–डाइनियाँ तथा सिक्टी जोड्ने सडक निर्माण कार्यमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयवासीले गम्भीर असन्तुष्टि जनाएका छन्।करिब २ किलोमिटर सडक खण्डमा हाल कालोपत्रे गर्ने काम भइरहेको छ। निर्माण कम्पनी निकिता एन्ड राज कन्स्ट्रक्सनले करिब २ करोड रुपैयाँ लागतमा काम सुरु गरे पनि प्रयोग गरिएको सामग्री र निर्माणको गुणस्तर प्राविधिक मापदण्डअनुसार नभएको स्थानीयको आरोप छ।स्थानीय कमल साहका अनुसार ठेकेदार कम्पनीले आवश्यक मापदण्ड पालना नगरी काम गरिरहेको छ। अर्का स्थानीय निर्मल उप्रेतीले कालोपत्रेको मोटाइ ४० एमएम हुनुपर्ने भए पनि कतिपय स्थानमा १० देखि १५ एमएम मात्र रहेको दाबी गरेका छन्। उनका अनुसार यस्तो कमजोर निर्माणले सडक ६ महिनादेखि एक वर्षभित्रै भत्किने उच्च जोखिम हुन्छ। “यसले करदाताको रकम खेर जाने अवस्था देखिन्छ,” उनले भने।यता निर्माण कम्पनीका इन्जिनियर गणेश चौधरीले भने प्राविधिक मापदण्डअनुसार नै काम भइरहेको दाबी गरेका छन्। तर, स्थानीयले निर्माणस्थलमा अनिवार्य रूपमा राख्नुपर्ने सूचना पाटीसमेत नराखिएको भन्दै आपत्ति जनाएका छन्।सार्वजनिक निर्माणमा पारदर्शिता कायम गर्न सूचना पाटी अनिवार्य भए पनि त्यसको पालना नभएको स्थानीयको भनाइ छ। साथै, सम्बन्धित जनप्रतिनिधि, नगर प्रमुख र उपप्रमुखबाट अपेक्षित अनुगमन नभएको आरोप पनि उनीहरूले लगाएका छन्।नियमित अनुगमनको अभावमा निर्माण कम्पनीले मनपरी ढंगले काम गरिरहेको गुनासो स्थानीयको छ। उनीहरूले सडकको गुणस्तर सुनिश्चित गर्न तत्काल प्राविधिक परीक्षण र प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।सिक्टी बोर्डरदेखि डाइनियाँ हुँदै पथरीसम्म करिब २७ किलोमिटर सडक खण्डमा विभिन्न चरणमा कालोपत्रे भइरहेको छ। स्थानीयका अनुसार यस्तै अवस्था कायम रहेमा निर्माण सम्पन्न भएको छोटो समयमै सडक बिग्रिने निश्चित छ।