बिराटनगर। राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको छ। सोही अनुसार उत्तरपुस्तिका परीक्षण अब सम्बन्धित परीक्षा केन्द्रबाटै गरिने निर्णय गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय का मन्त्री सस्मित पोखरेल को निर्देशनपछि बोर्डले यस्तो नयाँ व्यवस्था लागू गरेको हो। एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार परीक्षा केन्द्रमै परीक्षण केन्द्र स्थापना गरी उत्तरपुस्तिका जाँच गरिनेछ।
अघिल्ला वर्षहरूमा भने उत्तरपुस्तिका परीक्षणका लागि गोप्य केन्द्र तोकिन्थ्यो र एक प्रदेशका कापी अर्को प्रदेशमा पठाइन्थ्यो। यसपटक उक्त प्रणाली परिवर्तन गर्दै स्थानीय स्तरमै परीक्षण प्रक्रिया अघि बढाइने भएको हो। यसअघि एसईईको नतिजा प्रायः असारको दोस्रो सातातिर सार्वजनिक हुने गरे पनि ढिलाइ हुने गुनासो बढ्दै आएको थियो। ढिलो नतिजाका कारण विद्यार्थीमा मानसिक दबाब बढ्ने र ब्रीज कोर्सजस्ता अतिरिक्त कक्षाले अनावश्यक तनाव दिने गरेको भन्दै मन्त्रालयले ब्रीज कोर्स सञ्चालनमा रोक लगाइसकेको छ।
यसैबीच, बोर्डले चैत १९ गतेदेखि एसईई परीक्षा सुरु हुने जनाएको छ। मूलतः चैतको पहिलो सातामा हुने परीक्षा २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावका कारण पछि सारिएको हो। बोर्डका अनुसार परीक्षा सञ्चालनका सबै तयारी पूरा भइसकेका छन्। परीक्षा सुरु हुनुअघि मन्त्री पोखरेलको सहभागितामा प्रदेश र जिल्ला तहका अधिकारीहरूसँग भर्चुअल बैठकसमेत सम्पन्न भइसकेको छ। सबै ७७ जिल्लाबाट तयारी पूरा भएको जानकारी प्राप्त भएको परीक्षा नियन्त्रक अधिकारीले बताए।
प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेको छ भने केन्द्राध्यक्षहरू पनि खटाइसकिएको छ। परीक्षा सञ्चालनका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिनेछ। यस वर्ष देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ, जसमा एक केन्द्र जापान मा पनि रहेको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।
बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य समूहका विद्यार्थी रहेका छन्। जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले परीक्षा दिनेछन्। एसईईलाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्न बोर्डले सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ।
