एजेन्सी । अमेरिका र इजरायलसँग जारी द्वन्द्वका कारण इरानसहित पश्चिम एसियामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानवअधिकार संस्थाहरूका अनुसार युद्ध दिनप्रतिदिन थप घातक बन्दै गएको छ। सबैभन्दा ठूलो क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृतकमध्ये सर्वसाधारण र बालबालिकाको संख्या उल्लेखनीय रहेको बताइएको छ।
मानवअधिकार समूहहरूका अनुसार सयौं बालबालिकाले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन्। उद्धार तथा स्वास्थ्य संस्थाहरूले करिब १९ हजारभन्दा बढी मानिस घाइते भएको अनुमान गरेका छन्। युद्धको प्रभाव छिमेकी मुलुकहरूमा पनि फैलिएको छ। लेबनानमा इजरायली आक्रमणबाट १ हजार ३ सय १८ जनाको मृत्यु भएको छ, जसमा बालबालिका र लडाकु दुवै समावेश छन्। हिजबुल्लाहका सयौं सदस्य मारिएका छन् भने सैनिक र संयुक्त राष्ट्रसंघका शान्ति सैनिकले समेत ज्यान गुमाएका छन्।
इराकमा इरान समर्थित मिलिसिया र अन्य समूहबीचको झडपमा १०० भन्दा बढीको मृत्यु भएको छ। यस्तै, इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा पनि १९ जनाको ज्यान गएको छ। युद्धमा संलग्न अमेरिकाले आफ्ना केही सैनिक गुमाएको पुष्टि गरेको छ। खाडी क्षेत्रका अन्य मुलुकहरूमा समेत छिटफुट रूपमा मानवीय क्षति भइरहेको छ।
अन्तर्राष्ट्रिय समुदायले बढ्दो मानवीय क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल युद्धविरामको आह्वान गरिरहेको छ। तर, क्षेत्रीय अवस्था अझै तनावपूर्ण नै रहेको छ।
