काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले सभामुख पदमा उम्मेदवारी नदिई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने रणनीति बनाएको छ। पार्टीले सभामुखमा रास्वपालाई सघाउने र बदलामा उपसभामुख पदमा दाबी गर्ने योजना अघि सारेको हो। यस विषयमा प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच छलफल भइरहेको बताइएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि सभामुखमा उम्मेदवारी नदिई रास्वपालाई समर्थन गर्ने र उपसभामुखबारे छलफल जारी रहेको बताएका छन्।
रास्वपाभित्र पनि नेकपालाई उपसभामुख दिने विषयमा आन्तरिक छलफल भइरहेको जनाइएको छ। यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग समेत यस विषयमा कुराकानी भइरहेको छ। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि उपसभामुखबारे छलफल भए पनि राजतन्त्र पुनर्स्थापनाको एजेण्डामा रास्वपाको असहमति रहेकाले उक्त विकल्पमा व्यापक समर्थन नदेखिएको स्रोतले जनाएको छ।
