२७ मिनेटमै सकियो बैठक : रवि लामिछाने ले छोट्याए समय, समर्थक लम्साल पनि संक्षिप्त बोले

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक छोटो, सहज र सहमतिको वातावरणमा सम्पन्न भएको छ। सभामुख पदको निर्वाचनका लागि बोलाइएको बैठक केवल २७ मिनेटमै टुंगिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएसँगै बैठक समापन गरिएको हो। बैठकको सुरुवातमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले निर्वाचन प्रक्रिया अगाडि बढाउँदै अर्यालको एकल उम्मेदवारी परेको जानकारी गराएका थिए। उनले प्रस्तावक र समर्थकहरूलाई धारणा राख्न समय दिएका थिए।

प्रस्तावकका रूपमा रोस्ट्रममा उभिएका रवि लामिछाने ले संक्षिप्त सम्बोधन गर्दै अन्य दलहरूले उम्मेदवारी नदिई सहमति जनाएकोमा धन्यवाद दिए। “सबै दलको सहमति भइसकेको अवस्थामा धेरै बोलेर सदनको समय लिन चाहन्न,” उनले भने। उनलाई १० मिनेट समय तोकिएको भए पनि उनले सो समय उपयोग गरेनन्। विगतमा सांसदहरूले लामो भाषण गर्ने परम्पराभन्दा फरक रूपमा उनले छोटो मन्तव्य दिएका हुन्। यसैगरी समर्थकका रूपमा बोलेका रास्वपाकै सांसद सुनील लम्साल ले पनि संक्षिप्त र स्पष्ट धारणा राख्दै अर्यालको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाए। उनले छोटो मन्तव्यमै आफ्नो समर्थन व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए। अन्य समर्थकहरूले भने केही विस्तृत रूपमा आफ्ना धारणा राखेका थिए। सांसद तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संसदीय इतिहास र तटस्थताको महत्त्वबारे चर्चा गर्दै अर्यालले संसद्को अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले कृष्णप्रसाद भट्टराई र दमननाथ ढुंगाना जस्ता पूर्व सभामुखहरूले स्थापित गरेका उच्च मानकहरूको स्मरण गर्दै नयाँ पुस्ताले त्यसबाट सिक्नुपर्नेमा जोड दिए।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले चितवनका भूमिहीन तथा आम नागरिकका मुद्दाहरू संसद्को प्राथमिकतामा पर्नुपर्ने बताइन्। उनले संसद् अब केवल भाषण गर्ने थलो नभई परिणाम दिने संस्थामा रूपान्तरण हुनुपर्ने धारणा राखिन्। बैठकको अन्त्यमा ज्येष्ठ सदस्य केसीले डोलप्रसाद अर्याल लाई प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।