श्रमसंस्कृतिका सांसदको टिप्पणी: रास्वपाले गोरेटो होइन, हाइवे बनाउनुपर्छ

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा भोजपुरबाट निर्वाचित श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको कामकारबाही र विकास योजनाबारे स्पष्ट टिप्पणी गरेका छन्। सांसद राईले वर्तमान सरकार शक्तिशाली अवस्थामा रहेको हुँदा साना काममा अल्झिनु भन्दा ठूला विकास योजना अघि बढाउनुपर्ने बताएका छन्। उनले भने, “यो शक्तिशाली सरकारले गोरेटो होइन, हाइवे नै बनाउनुपर्छ।” उहाँले बजेट निर्माण प्रक्रियामा कुनै पनि जिल्लामाथि विभेद नगरी सबै जिल्लालाई समेटेर योजना ल्याउन सरकारलाई सुझाव दिनुभएको छ। सांसद राईले संसद्मा नीति–नियम मात्र बनाउन नभई विकासको जिम्मेवारी पनि बोकेर आएको स्पष्ट पारे। “जनताले विकासको अनुभूति गर्न नसकेको गुनासो गरिरहेका छन्,” उनले थपे।

सांसद राईले भोजपुर र खोटाङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत करिब १० किलोमिटर सडक १२ वर्षदेखि अलपत्र रहेको भन्दै तत्काल निर्माण सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। त्यसैगरी, भोजपुर जोड्ने अरुण र दूधकोशी नदीमाथि पर्ने पुलहरू पनि लामो समयदेखि अलपत्र रहेको उल्लेख गर्दै उनले ती परियोजनातर्फ सरकारले छिट्टै ध्यान दिनुपर्ने बताएका छन्।