विराटनगर। कोसी प्रदेशसभाको सोमबार (चैत २३) बसेको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। नेकपा (एमाले)की सांसद सिर्जना राईले सामाजिक सञ्जालमा महिलामाथि बढ्दो साइबर बुलिङप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरिन्। महिलाविरुद्ध आपत्तिजनक र हिंसात्मक भाषा प्रयोग बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले यसमा सरकार निष्क्रिय देखिएको आरोप लगाइन्। उनले साइबर ब्युरोमा उजुरी दिँदा पनि पीडितमा न्याय पाउने वा नपाउने अन्योल र मानसिक तनाव रहने गरेको बताइन्। राईले आपत्तिजनक सामग्री स्वतः हटाउने एआई प्रणाली विकास गर्न तथा साइबर अपराधी पहिचानका लागि दक्ष जनशक्ति परिचालन गरी प्रभावकारी निगरानी आवश्यक रहेकोमा जोड दिइन्।
त्यस्तै, नेकपाकी प्रदेश सांसद सपना दर्जीले नागरिकता अभावका कारण सामाजिक असमानता बढ्दै गएको बताइन्। आमाको नामबाट नागरिकता लिन अझै झन्झटिलो प्रक्रिया रहेको भन्दै त्यसमा सुधार आवश्यक रहेको उनले उल्लेख गरिन्। नेपाली कांग्रेसका सांसद गयानन्द मण्डलले कृषि क्षेत्र सुधारका लागि जैविक खेतीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले सिँचाइको व्यवस्था सुदृढ गर्न, किसानलाई विद्युत् महशुलमा सहुलियत दिन तथा जैविक मल उत्पादनका लागि तालिम उपलब्ध गराउन सरकारसँग आग्रह गरे।
