आकस्मिक रूपमा बोलाइयो मन्त्रिपरिषद् बैठक, सिंहदरबारमा सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। यसअघि आइतबार मात्रै बसेको बैठकले विभिन्न निर्णयहरू गरेको थियो । प्रधानमन्त्री बालेनले बोलाएको यस आकस्मिक बैठकबाट केही महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो। गृहमन्त्री सुधन गुरुङको काभ्रेस्थित रोशी खोला निरीक्षण कार्यक्रम अघि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्। हालसम्म बैठकको एजेन्डाबारे प्रधानमन्त्रीको सचिवालय र मन्त्रीहरूले कुनै जानकारी सार्वजनिक गरेका छैनन्।

गृहमन्त्री गुरुङले भने बैठकमा सहभागी भएपछि मात्रै रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नेछन्। वर्षायाममा हुन सक्ने बाढी र स्थानीय समस्याबारे स्थलगत अध्ययन गर्न अघि, मन्त्रिपरिषद्ले महत्त्वपूर्ण विषयहरूमा छलफल गर्ने बुझिएको छ।