काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटनाको वास्तविकता सार्वजनिक गरिएको छ। सम्बन्धित निकायले अनुसन्धान गरी ती नागरिकको अवस्थाबारे नेपाल प्रहरीले जानकारी दिएको हो। अनुसन्धानबाट ती फ्रान्सेली नागरिक विगत ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसँग नेपालमै बस्दै आएको खुल्न आएको छ। आर्थिक अभावका कारण उनीहरूले बस्दै आएको होटलको शुल्क तिर्न नसक्दा पासपोर्ट, मोबाइल र ल्यापटप लगायतका सामान होटलमै छाडेर निस्किएको पाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, “निजलाई सुरक्षित रूपमा फेला पारी आवश्यक प्रक्रिया पूरा गर्न अध्यागमन विभागमा बुझाइएको छ। सोधपुछका क्रममा निजको सामान चोरी वा लुटपाट नभई आर्थिक समस्याका कारण होटलमै छाडिएको पुष्टि भएको छ।” यस घटनालाई लिएर सामाजिक सञ्जालमा सामान लुटिएको भन्दै फैलिएको सूचना भ्रमपूर्ण रहेको प्रहरीले स्पष्ट पारेको छ। साथै, वास्तविकता नबुझी तस्बिर वा भिडियो सेयर नगर्न आग्रह गरिएको छ। ‘लाइक’ र ‘भ्युज’ का लागि अफवाह फैलाउने कार्य निरुत्साहित गर्न अनुरोध गर्दै सूचना उपलब्ध गराउने सर्वसाधारणप्रति धन्यवाद समेत व्यक्त गरिएको छ।
