युद्धविरामले बढायो आशा: मध्यपूर्वमा सुरक्षित मार्ग सुनिश्चित हुने विश्वास

एजेन्सी। संयुक्त राज्य अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराममा सहमति भएपछि दुवै पक्षले आफूलाई विजयकर्ता घोषणा गरेका छन्। यस घटनाले विश्वभरबाट आएका प्रतिक्रियामार्फत मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्ने चुनौतीको गम्भीरता उजागर गरेको छ। दक्षिण कोरियाले युद्धविरामको स्वागत गर्दै होर्मुज जलडमरूमध्य हुँदै आफ्ना जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार दुई पक्षबीचको वार्ता सफल हुने अपेक्षा गर्दै सम्बन्धित देशहरूसँग समन्वयमार्फत जलमार्गको सुरक्षा मजबुत बनाइनेछ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि प्रतिबद्ध हुन आह्वान गरेका छन्। उनका प्रवक्तामार्फत जारी सन्देशमा युद्धविरामका सर्तहरूको पालना र अन्तर्राष्ट्रिय कानुनअनुसार दायित्व पूरा गर्न आग्रह गरिएको छ। अस्ट्रेलियाले युद्धको दीर्घकालीन असरबारे चेतावनी दिँदै युद्धविराम कायम राख्न र द्वन्द्व समाधानमा केन्द्रित हुनुपर्ने बताएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले युद्धले विश्व अर्थतन्त्र र मानव जीवनमा गम्भीर प्रभाव पार्ने उल्लेख गर्दै मानवीय कानुन पालना गर्न आग्रह गरेका छन्।

न्युजिल्यान्डले युद्धविरामलाई सकारात्मक कदम माने पनि स्थायी शान्तिका लागि अझै महत्वपूर्ण प्रयास आवश्यक रहेको जनाएको छ। विदेशमन्त्री विन्स्टन पिटर्सका प्रवक्ताले आगामी दिनमा दिगो समाधानका लागि समर्थन रहने बताएका छन्।

जापानले होर्मुज जलडमरूमध्यमार्फत सुरक्षित नेभिगेसन सुनिश्चित गर्न ठोस कदम आवश्यक रहेको बताएको छ। सरकारी प्रवक्ता मिनोरु किहाराले कूटनीतिक माध्यमबाट छिट्टै अन्तिम सम्झौतामा पुग्ने अपेक्षा व्यक्त गरेका छन्। विश्वको चौथो ठूलो अर्थतन्त्र तथा प्रमुख तेल आयातकर्तामध्ये एक भएकाले जापानका लागि उक्त मार्गको सुरक्षा अत्यन्त महत्वपूर्ण मानिन्छ। इराकले युद्धविरामको स्वागत गर्दै अमेरिका र इरानलाई गम्भीर र दिगो संवादमा जुट्न आह्वान गरेको छ। इराकको विदेश मन्त्रालयले विवादका मूल कारण समाधान गर्दै आपसी विश्वास बढाउनुपर्नेमा जोड दिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका, इरान र उनीहरूका सहयोगीहरूबीच व्यापक युद्धविरामको सहमति भएको बताएका छन्। तर इजरायलले भने लेबनान यस दुई हप्ते युद्धविराममा समावेश नभएको स्पष्ट पारेको छ। विश्वभरका देशहरूले मध्यपूर्वको स्थिरता र व्यापारिक मार्गहरूको सुरक्षा सुनिश्चित गर्न युद्धविरामलाई महत्वपूर्ण कदमका रूपमा लिँदै थप कूटनीतिक पहल जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

यस घटनाले अन्तर्राष्ट्रिय समुदायलाई युद्धको जोखिम न्यूनीकरण, आर्थिक अस्थिरता नियन्त्रण र मानव जीवनको सुरक्षामा थप प्रयास आवश्यक रहेको सन्देश दिएको छ।