इजरायलको हमला: लेबनानमा मानवीय क्षति र तनाव चरममा

एजेन्सी। लेबनानमा इजरायलको व्यापक हवाई आक्रमणपछि मध्यपूर्व फेरि गम्भीर संकटमा फसेको छ। बुधबारको श्रृंखलाबद्ध आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा ठूलो विस्फोट र आकाश धुवाँले ढाकिँदा जनजीवन अस्तव्यस्त भएको थियो। इजरायली सेनाले आक्रमण सैन्य संरचना र कमान्ड केन्द्रमा लक्षित भएको दाबी गरेको छ भने लेबनानले यसलाई नागरिकमाथिको प्रत्यक्ष हमला भन्दै अन्तर्राष्ट्रिय कानुन उल्लंघनको आरोप लगाएको छ।

उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। अस्पतालहरू रगतको अभावमा जुझिरहेका छन्, धेरै आवासीय भवन ध्वस्त भएका छन्, र करिब बाह्र लाख मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले यस घटनालाई “अविश्वसनीय र भयावह नरसंहार” भन्दै तत्काल हिंसा रोक्न अपिल गरेका छन्। पछिल्लो हिंसाले इजरायल र हिज्बुल्लाहबीच तनाव बढाएको छ र क्षेत्रीय शान्ति प्रयासहरूमा चुनौती सिर्जना गरेको छ।

विश्लेषकहरूले यस घटनाले मध्यपूर्वमा ठूलो युद्धको जोखिम बढाएको र मानवीय संकट गहिरिँदै गएको बताएका छन्।