

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा नेवाः समुदायले आफ्नो भाषा, कला र सांस्कृतिक पहिचानलाई सशक्त बनाउने उद्देश्यसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
नेवाः देय् दबू कटहरी गाउँपालिका कार्यसमितिको दोस्रो साधारणसभाको अवसर पारेर आयोजित कार्यक्रममा आधा दर्जनभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्दै समुदायले पुस्तान्तरणको सेतु मजबुत बनाउने सन्देश दिएको हो ।
कार्यक्रममा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू—कटहरी–२ का ८३ वर्षीय कृष्णबहादुर श्रेष्ठ, ८१ वर्षीय रविन श्रेष्ठ, कटहरी–५ का ८० वर्षीय मीना श्रेष्ठ, कटहरी–२ की ७७ वर्षीया भागिरथी श्रेष्ठ, कटहरी–६ का ७३ वर्षीय प्रेमबहादुर श्रेष्ठ, कटहरी–२ की ७२ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ र ७१ वर्षीया बच्चीमाया श्रेष्ठ—लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूलाई समुदायका जीवित इतिहास र सांस्कृतिक धरोहरका संवाहकका रूपमा चित्रित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेवाः देय् दबू मोरङका अध्यक्ष थर्कमान श्रेष्ठले नेवाः समुदायको पहिचान भाषा, लिपि, कला र संस्कृतिमा निहित रहेको उल्लेख गर्दै त्यसको संरक्षण आजको आवश्यकता भएको बताए । ‘नयाँ पुस्ताले आफ्नै भाषा बोल्न, संस्कृति अपनाउन र परम्परालाई निरन्तरता दिन सके मात्र समुदायको अस्तित्व सुरक्षित रहन्छ,’ उनले भने ।
कटहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष हरि राजवंशीले स्थानीय तहले पनि बहुभाषिक र बहुसांस्कृतिक समाजलाई सम्मान गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले नेवारी भाषा संरक्षणका लागि स्थानीय पाठ्यक्रममा समावेश गर्न सकिने सम्भावनाबारे समेत चर्चा गरे ।
नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले सञ्चार क्षेत्रले पनि स्थानीय भाषा, संस्कृति र परम्पराको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे । ‘स्थानीय पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सञ्चार माध्यम प्रभावकारी माध्यम बन्न सक्छ,’ उनले भने ।
समाजसेवी किशोरकुमार पाण्डे, लालबहादुर खत्री, गौतमराज प्रधान, नेवाः देय् दबू मोरङ जिल्ला सदस्य विशाल श्रेष्ठ, विराटनगर महानगर अध्यक्ष अम्बरबहादुर श्रेष्ठलगायतले नेवारी कला र संस्कृतिको समृद्ध परम्परा देशकै गौरव भएको उल्लेख गर्दै यसको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताए । उनीहरुले सांस्कृतिक विविधता नै नेपालको शक्ति भएको उल्लेख गर्दै नेवाः समुदायको योगदान राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा लाखेनाचको आकर्षक प्रस्तुतिसमेत गरिएको थियो । जसले उपस्थित दर्शकलाई नेवाः समुदायको सांस्कृतिक जीवन्तता झल्काएको थियो । परम्परागत बाजागाजासहित प्रस्तुत गरिएको लाखेनाचले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति आकर्षित गर्ने काम गरेको सहभागीहरूको भनाइ थियो ।
कार्यसमिति सदस्य चित्र श्रेष्ठका अनुसार कटहरी गाउँपालिकाभित्र नेवार समुदायका करिब १३० घरधुरी रहेका छन् भने कुल जनसंख्या करिब १ हजार १ सयको हाराहारीमा रहेको छ । उनले समुदायभित्र भाषा, लिपि (रञ्जना लिपि), परम्परागत पर्व, नृत्य र खानपान संस्कृतिलाई संरक्षण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको जानकारी दिए ।
कार्यक्रमका अध्यक्ष सन्त प्रधानले नेवाः देय् दबूले समुदायको पहिचान जोगाउन शिक्षा, संस्कार र सांस्कृतिक अभ्यासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप सशक्त कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । सचिव राजन श्रेष्ठले संगठन विस्तार र युवापुस्तालाई समेट्ने योजनाबारे जानकारी गराउँदै संस्थालाई अझ क्रियाशील बनाउने लक्ष्य सुनाए । सचिव श्रेष्ठले वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।
नेवाः समुदायले मनाउँदै आएका इन्द्रजात्रा, म्हः पूजा, गुंला पर्वजस्ता सांस्कृतिक परम्परालाई संरक्षण गर्दै स्थानीय तहमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने सम्भावना पनि औंल्याइएको थियो । कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्नुका साथै नेवाः समुदायभित्र सांस्कृतिक चेतना, एकता र पहिचानप्रति नयाँ ऊर्जा थपेको आयोजक समितिका अध्यक्ष प्रधानको भनाइ थियो ।
