विराटनगर । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले विराटनगरका युवाहरूले १६ वटा चोकमा सिसिटिभि क्यामरा जडान गरेका छन्। विराटनगर–११ र १२ का विभिन्न स्थानमा क्यामरा जडान गरिएको हो। पञ्चमुखी युवा समाजको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। जडान गरिएका सिसिटिभि क्यामराको निगरानी वडा प्रहरी कार्यालय बखरीमार्फत गरिने जनाइएको छ। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रहरी प्रमुख (एसपी) कवित कट्वाल, डिएसपी अनमोल खड्का लगायतको उपस्थिति रहेको थियो। स्थानीय स्तरमै सुरक्षालाई प्राथमिकता दिँदै युवाहरूले अघि सारेको यस पहललाई सराहनीय कदमका रूपमा हेरिएको छ।
