पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै, चिकित्सक टोली तयारीमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी हटाउन आज शल्यक्रिया गरिँदैछ। उपचारमा संलग्न चिकित्सक टोलीले यसअघि नै शल्यक्रियाको मिति निर्धारण गरेको थियो र सोहीअनुसार उनलाई अपरेसन थिएटरमा लगिएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा करिब २२ मिलिमिटरको पत्थरी रहेको छ। स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शल्यक्रिया आवश्यक ठहर गरिएको हो।

यसअघि चैत १४ गते प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै स्वास्थ्य समस्याका कारण सोही दिन बिहान १० बजे उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। ओली पक्राउ परेपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

सर्वोच्च अदालतले चैत २३ गते साँझ पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसम्बन्धी अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो। त्यसपछि उनी चैत २४ गते थुनामुक्त भएका थिए। यद्यपि, स्वास्थ्य अवस्था सुधारका लागि शल्यक्रिया आवश्यक रहेकाले उनी हालसम्म अस्पतालमै उपचाररत छन्।