
विराटनगर । मोरङका अलगअलग स्थानमा सोमबार साँझ र दिउँसो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । दुर्घटना कानेपोखरी र बूढीगंगामा भएको हो ।
कानेपोखरी गाउँपालिका–५ मा दिउँसो २ः२० बजेतिर ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जहदाबाट भौँसाबारीतर्फ जाँदै गरेको बा ३९ प ४३३३ नम्बरको मोटरसाइकललाई मे १ त ६७८७ नम्बरको ट्रयाक्टरले ब्याक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो ।
टनामा मोटरसाइकल चालक कानेपोखरी–७ का ३० वर्षीय मनोज कार्कीको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कार्कीलाई विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार ३४ वर्षीय दिलबहादुर कार्की घाइते भएका छन् । सामान्य अवस्थाका उनको नोबेलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक कानेपोखरी–५ का ६० वर्षीय प्रदीप राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–५ बाँसबारीमा साँझ ७ बजेतिर माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०२२८ नम्बरको माइक्रो दुर्घटनामा परेको इन्स्पेक्टर न्यौपानेले बताए ।
पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिएपछि माइक्रो दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटनामा साइकल यात्री बूढीगंगा–३ का २५ वर्षीय शिव ऋषिदेवसहित १२ जना घाइते भएका हुन् ।
दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का २४ वर्षीय अनिल मण्डल, हनुमाननगर कंकालिनी नगरपालिका–१ का २५ वर्षीय श्याम शर्मा, महादेवा गाउँपालिका–६ का रुपनारायण मण्डल, तलाठी कोइलाडी–४ की ३२ वर्षीया रुकमिणी शर्मा, तलाठी कोइलाडी–१ का ४९ वर्षीय शंकर शर्मा, सप्तरीको राजविराज नगरपालिका–१२ का २० वर्षीय चन्दनकुमार मण्डल, १२ वर्षीया अर्चनाकुमारी मण्डल, सप्तरीकै शम्भुनाथ नगरपालिका–३ का ३० वर्षीय अमेश साह, हनुमाननगर कंकालिनी–६ की २८ वर्षीया बिमा मण्डल, उनका ३ महिनो छोरा ओम मण्डल र राजविराज–७ का ३५ वर्षीय श्रवणकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।
सामान्य अवस्थाका घाइतेहरुको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका माइक्रो चालकको खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।
