नयाँ वर्ष २०८३ को अवसरमा देशका शीर्ष राजनीतिक तथा संवैधानिक नेतृत्वले राष्ट्रिय एकता, सुशासन, सहकार्य र समृद्धिलाई केन्द्रमा राख्दै सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गरी त्यसको प्राप्तिका लागि संकल्प गर्ने महत्वपूर्ण दिनका रूपमा व्याख्या गर्दै सम्पूर्ण नेपालीलाई लक्ष्यप्रति दृढ रहन आह्वान गरेका छन् । नयाँ वर्षको शुभकामना दिँदै राष्ट्रपति पौडेलले लक्ष्य प्राप्ति सहज नभएको उल्लेख गर्दै त्यसका लागि निरन्तर साधना, अनुशासन र विधि–विधानको पालना अनिवार्य हुने बताएका छन् ।
उनले नेपाली समाजका परम्परा, संवत् र सांस्कृतिक अभ्यासहरूले हाम्रो इतिहास र सभ्यताको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यिनै आधारले भविष्य निर्माणमा प्रेरणा दिने धारणा राखे । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट जनताले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको स्पष्ट अपेक्षा व्यक्त गरेको उनको भनाइ छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई सकारात्मक सोच, अनुशासित जीवनशैली र नवसंकल्पको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले शिक्षा, स्वास्थ्य, आर्थिक उन्नयन र वातावरण संरक्षणजस्ता क्षेत्रमा राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गरे । साथै, सतुवाइन, जुडशीतल, सिरुवा पावनी र बिस्का जात्राजस्ता पर्वहरूले सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संस्कृत श्लोकमार्फत सबै नागरिकको सुख, शान्ति र आरोग्यको कामना गर्दै नयाँ वर्षले सकारात्मक ऊर्जा र कल्याण ल्याओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । उनले सबैको जीवन दुःखमुक्त र समृद्ध होस् भन्ने भाव व्यक्त गर्दै सामूहिक प्रयासबाट मात्र राष्ट्र निर्माण सम्भव हुने संकेत दिएका छन् ।
राजनीतिक नेतृत्वले पनि नयाँ वर्षलाई समीक्षा र सुधारको अवसरका रूपमा लिएको देखिन्छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ले विगतका अनुभव र युवा ऊर्जाबीचको समन्वयबाट समृद्ध नेपाल निर्माण गर्नुपर्ने धारणा राखेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्षलाई ‘खील निकाल्ने वर्ष’का रूपमा चित्रण गर्दै मुलुकको बेथिति र विकृति हटाउने क्रममा केही पीडा सहनुपर्ने संकेत गरेका छन् । उनले परिवर्तनका लागि कठोर कदम आवश्यक पर्ने धारणा राखेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रीकृत मानसिकता त्याग्दै सहअस्तित्व र सहकार्यको आधारमा समृद्धि हासिल गर्नुपर्ने बताए । उनले सीमित स्रोतका बाबजुद प्रदेश सरकारले पूर्वाधार, लगानी र उद्यमशीलतामा महत्वपूर्ण काम गरिरहेको दाबी गरे ।
नयाँ वर्ष २०८३ को अवसरमा देशका सबै तहका नेतृत्वको साझा सन्देश छ, ‘राष्ट्रिय लक्ष्य स्पष्ट पार्दै एकता, सहकार्य र प्रतिबद्धताका साथ अघि बढे मात्र समृद्ध नेपाल निर्माण सम्भव छ ।’
