रास्वपा सचिवालयको बैठक बस्दै, मुख्य एजेन्डा के–के ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक तथा संरचनागत सुधारका महत्वपूर्ण विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने ले वैशाख ६ गते दिउँसो ३:३० बजे केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा मुख्यतः पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे केन्द्रित छलफल हुने जनाइएको छ। प्रस्तावित कार्यसूचीअनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ पारित गर्ने र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषय प्रमुख एजेन्डाका रूपमा रहेका छन्।

यसैगरी, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च विस्तार र विभिन्न विभागमा पदाधिकारी मनोनयन गर्ने तयारी पनि बैठकको प्राथमिकतामा छ। बैंक खाता सञ्चालनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने तथा विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा समेत छलफल हुने बताइएको छ। सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्ने, आगामी केन्द्रीय समिति बैठकको तयारी गर्ने, संसदीय दललाई आवश्यक प्राविधिक सहयोग सुनिश्चित गर्ने र लेवी व्यवस्थापनसम्बन्धी निर्णयहरू पनि लिने अपेक्षा गरिएको छ।