काठमाडौँ। सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने अभियान सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत दुई दिनसम्म भिटामिन ‘ए’सँगै जुकाविरुद्धको औषधि पनि वितरण गरिँदैछ। स्वास्थ्य सेवा विभाग को पोषण शाखा प्रमुख लिलाविक्रम थापा का अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाविरुद्धको औषधि अलबेन्डाजोल पनि खुवाइँदैछ।
कार्यक्रम सञ्चालनका लागि देशभर स्थानीय तहहरूले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। अभियानमा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। चिकित्सकका अनुसार भिटामिन ‘ए’ ले आँखाको ज्योति जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा बालबालिकाको समग्र वृद्धि विकासमा सहयोग पुर्याउने गर्छ। त्यस्तै, जुकाको औषधिले पेटका किरा नष्ट गर्नुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्याबाट जोगाउन मद्दत गर्छ। भिटामिन ‘ए’ को कमी रोकथाम तथा उपचारका लागि वि.सं. २०५० मा आठ जिल्लाबाट सुरु गरिएको कार्यक्रम २०५९ देखि देशभर विस्तार गरिएको हो। त्यसैगरी, जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ। हरेक वर्ष कात्तिक र वैशाख महिनामा यो अभियान निःशुल्क रूपमा सञ्चालन हुँदै आएको छ।
