जयवागेश्वरी मन्दिर पुनर्निर्माणको तयारीमा, स्वरूप फेरिँदै

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत पर्ने जयवागेश्वरी मन्दिर को ‘कलेवर’ परिवर्तन गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ। यसक्रममा जयवागेश्वरी, गणेश र भैरवका माटाका नयाँ मूर्ति निर्माण कार्य धमाधम भइरहेको छ। पशुपति क्षेत्र विकास कोष का सूचना अधिकारी अनिता भट्ट का अनुसार मन्दिरको कलेवर हरेक १२/१२ वर्षमा फेरिने परम्परा छ। चालु कार्य वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित भइरहेको उनले जानकारी दिइन्।

जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको विश्वास गरिन्छ, जसका कारण यहाँको गणेश मूर्तिमा सूँढ छैन। कलिगत संवत् ३२३२ मा सुरु भएको निर्माण ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको ऐतिहासिक तथ्य पाइन्छ। वि.सं. १९९० को भूकम्पले क्षति पुर्‍याएपछि जीर्णोद्वार गरिएको मन्दिर २०७२ वैशाख १२ को भूकम्पपछि पुनःनिर्माण गरिएको थियो। जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीको रूप मानिए पनि यहाँ विशेषगरी विद्याकी देवीका रूपमा पूजा गरिन्छ। तान्त्रिक साधनामा संलग्न साधकहरूले अन्तिम साधना यहीँ आएर गर्ने परम्परा रहेको छ। मन्दिर परिसरमा रहेको ऐतिहासिक सुन्धारा भने अहिले लोपोन्मुख अवस्थामा पुगेको छ भने ठीक अगाडि तलेजु भवानी मन्दिर अवस्थित छ।

जयवागेश्वरीलाई उपत्यकाको प्राचीन राजधानी मानिन्छ। स्थानीयका अनुसार ‘गोल’ भनिने यो क्षेत्र उपत्यकाकै पहिलो बस्तीका रूपमा चिनिन्छ, जहाँ नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोका जस्ता संरचनाहरू रहेको उल्लेख छ। गोपाल र किराँतकालमा राजधानीका रूपमा रहेको यो क्षेत्र लिच्छविकालमा विस्तार हुँदै पछि हाँडीगाउँ सरेको र मल्लकालमा राजधानी हनुमानढोका दरबार क्षेत्र मा सारिएको इतिहास पाइन्छ।