सुन र चाँदीको मूल्य ओरालो लाग्यो, शुक्रबार भाउ घट्यो

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर दुई लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। बिहीबार प्रतितोला पाँच हजार २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर चार हजार ९४५ रुपैयाँमा झरेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको भाउमा निरन्तर फेरबदल भइरहेको महासंघले जनाएको छ।