थापाथलीमा सुकुमवासीको प्रदर्शन चर्कियो, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन माग

काठमाडौं, ११ वैशाख  सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथली क्षेत्रमा प्रदर्शन चर्किएको छ। स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध जनाइरहेका छन्। प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “सुकुमवासीको आवासको हक सुनिश्चित गर” र “निरंकुश सरकार चाहिँदैन” जस्ता नारा लगाइरहेका छन्। सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने बताएका थिए। तर अहिले डोजर चलाउने निर्णय भएपछि प्रदर्शनकारीहरूले उनलाई सोही प्रतिबद्धता सम्झाउँदै थापाथलीमै आएर ‘छाती थाप्न’ चुनौती दिएका छन्। सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि माइकिङ सुरु गरेको थियो। शुक्रबार बिहानदेखि केही बासिन्दाले सामान सार्न थालेका छन् भने केहीले बस्ती खाली नगर्ने अडानसहित प्रदर्शन जारी राखेका छन्। राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भइरहेको प्रदर्शनलाई थप विस्तार गर्दै थापाथलीबाट माइतीघर मण्डलासम्म र्‍याली निकाल्ने तयारीसमेत गरिएको छ। यसअघि वैशाख ९ गते प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती खाली गराउने निर्णय गरेको थियो।

बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो। निर्णयअनुसार प्रशासनले पहिलो चरणमा उपत्यकाका चार वटा सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ। सरकारको निर्णयपछि कतिपयले सामान आफैं सारिरहेका छन् भने केहीले अवज्ञा गर्दै बस्ती नछोड्ने अडान कायम राखेका छन्। देशभर करिब १२ लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान छ।