विराटनगर । जिल्लामा बढ्दो लागूऔषध कारोबार र गुण्डागर्दी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको दुई दिने ‘स्वीप अप्रेसन’का क्रममा १२० जना पक्राउ परेका छन्। प्रहरीले वैशाख ९ गते बेलुकादेखि वैशाख ११ गते बिहानसम्म जिल्लाका विभिन्न स्थानमा चलाएको अभियानमा ११५ पुरुष र ५ महिला गरी कुल १२० जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामध्ये १५ जना लागूऔषध प्रयोगकर्तालाई पुनर्स्थापना केन्द्र पठाइएको छ भने सामान्य प्रकृतिका कसुरमा संलग्न ७६ जनालाई सम्झाइ–बुझाइ आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। यस्तै, गम्भीर प्रकृतिका लागूऔषध कारोबारमा संलग्न २ जनाविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ।
यसै क्रममा लागूऔषध मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। अन्य २६ जनामाथि थप अनुसन्धान भइरहेको छ।अभियानका क्रममा प्रहरीले अवैध रूपमा राखिएको २६.५६ ग्राम ब्राउनसुगर र ४४ पिस विभिन्न प्रतिबन्धित ट्याब्लेटहरू समेत बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार समाजमा गुण्डागर्दी, लागूऔषध दुव्र्यसन तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई निरुत्साहित गर्न उक्त अभियान सञ्चालन गरिएको हो।
