बिराटनगर। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती आज देशभर श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। विशेषगरी मिथिला क्षेत्र तथा जनकपुरधामका मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।
धार्मिक मान्यताअनुसार त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा हलो जोत्दा भूमिबाट सीता प्रकट भएको उल्लेख रामायण लगायत वैदिक धर्मग्रन्थ तथा पुराणहरूमा पाइन्छ। यही कारण उनलाई ‘भूमिजा’ अर्थात् पृथ्वीकी पुत्रीका रूपमा समेत चिनिन्छ।
भगवान् विष्णुको अवतार मानिने श्रीराम सँग विवाह गरेकी सीता सत्य, त्याग, धैर्य र पतिव्रताको अनुपम उदाहरणका रूपमा पूजिन्छिन्। पतिको साथमा वनवास जानु, कठिन परिस्थितिमा पनि कर्तव्य नत्याग्नु र रावण द्वारा हरण हुँदा समेत आफ्नो मर्यादा र आस्था जोगाइराख्नु उनका जीवनका महत्वपूर्ण पक्ष मानिन्छन्।
रावणमाथि विजयपछि अयोध्या फर्किए पनि लोकमतको सम्मान गर्दै गर्भावस्थामै राजमहल त्यागेर वनवास जानु सीताको महान् त्यागको उदाहरणका रूपमा लिइन्छ। वनवासका क्रममा उनले आफ्ना पुत्र लव र कुश लाई वाल्मीकि आश्रममा शिक्षा–दीक्षा दिई योग्य बनाएकी थिइन्।
सीताको जीवन दर्शनले सत्यनिष्ठा, सहनशीलता, कर्तव्यपरायणता र पारिवारिक मूल्यमान्यताको सन्देश दिने भएकाले उनलाई आदर्श नारीका रूपमा सम्मान गरिन्छ। आजको दिन मन्दिरहरूमा विशेष पूजाआजा, कथा–वाचन, भजन–कीर्तन तथा धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्।
सीता जयन्तीले समाजमा नैतिकता, त्याग र आस्थाको महत्वलाई पुनः स्मरण गराउँदै नेपाली सांस्कृतिक तथा धार्मिक जीवनमा विशेष स्थान ओगट्दै आएको छ।
