अनलाइन जुवा खेलाउने गर्ने गिरोह पक्राउ

बिराटनगर

सुनसरीको धरानमा प्रहरीले अनलाइन जुवा सञ्चालन गरिरहेको गिरोहलाई पक्राउ गरेको छ। आइतबार राति धरान–१३ स्थित लक्ष्मी सडकको मण्डला क्याफेमा छापा मार्दा १० जना व्यक्ति जुवा खेलाउँदै र खेलिरहेको अवस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार उनीहरूले मोबाइल फोनमार्फत अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए। घटनास्थलबाट १५ वटा मोबाइल बरामद गरिएको छ, जसको प्राविधिक जाँचपछि थप विवरण खुल्ने बताइएको छ।

पक्राउ पर्नेहरूमा धरानका विभिन्न वडाका व्यक्तिहरू रहेका छन्, जसमध्ये हेमन राई, योगेश लिम्बू, मिलन लिम्बू, सुशान्त घिमिरे लगायत छन्। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर जुवा तथा सट्टेबाजीसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रहरीले यो गतिविधिमा संगठित समूहको संलग्नता हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको छ। साथै जिल्लाभर लागुऔषध, चोरी, तस्करीजस्ता अवैध गतिविधि नियन्त्रण गर्न २४ घण्टे ‘स्वीप अप्रेसन’ सञ्चालन भइरहेको पनि जानकारी दिइएको छ।