एकै दिन ट्राफिक कारबाहीबाट २२ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४८९ चालकलाई कारबाही गरेको जनाएको छ। उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ४९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७० जना र तीव्र गतिमा सवारी चलाउने ११२ जनालाई कारबाही गरिएको छ। त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ३२५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२१ जना, निर्धारित स्थानबाहिर यात्रु चढाउने–ओराल्ने ६२ जना तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ३२८ जनामाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।