देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

विराटनगर — देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ।

हाल बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।