विराटनगर
विराटनगरका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिका लागि आयोजित तीनदिने कार्यशाला सम्पन्न भएको छ। विराटनगर–५ स्थित शिद्धकाली आधारभूत विद्यालयको आयोजनामा तथा विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यशालामा विराटनगरका १० वटा विद्यालयबाट ४२ जना शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य रूपमा लेखनकला र आधुनिक शिक्षण विधिका विषयमा प्रशिक्षण दिइएको आयोजक विद्यालयका प्रधानाध्यापक भोजराज अधिकारीले जानकारी दिए।
समापन कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराईले शिक्षकहरूलाई सिकेका सीपहरू कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरे। उनले शैक्षिक सुधारमा निरन्तर लाग्नुपर्ने आवश्यकता पनि औंल्याए।
त्यस्तै पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले विद्यालय सुधारका लागि नेतृत्वसँगै शिक्षकहरूको सक्रियता आवश्यक रहेको बताए। उनले सिकाइलाई व्यवहारमा उतार्न सके मात्र सक्षम विद्यार्थी उत्पादन सम्भव हुने धारणा राखे।
तालिममा प्रशिक्षक स्मारिका देवकोटाले लेखनकला र शिक्षण विधिका विविध पक्षमा सहजीकरण गरेकी थिइन्। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
