२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले उद्योगी–व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत अर्थतन्त्र सुदृढ बनाउने रहेको स्पष्ट पारे। उनले सुशासनको अभियानमा साथ दिन उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दै सरकार सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको बताए। तर अर्थतन्त्रलाई कमजोर पार्ने गतिविधिहरूमा भने राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ।
विगतमा राजनीतिक अस्थिरताका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेको अवस्थालाई सरकारले बुझेको उल्लेख गर्दै उनले अब त्यस्तो परिस्थिति नदोहोरिने विश्वास दिलाए। सरकार नीतिमार्फत नै उद्योगी–व्यवसायीलाई सुरक्षा दिने दिशामा अघि बढेको उनको दाबी छ। “तपाईंहरूमा केही डर–त्रास देखिएको भन्ने सुनेपछि छलफलका लागि बोलाएका हौं,” उनले भने, “कुनै पनि चिन्ता लिनु पर्दैन। सरकारको उद्देश्य व्यवसायलाई धराशायी बनाउने होइन, सुधार गर्दै अगाडि बढ्ने हो।” उनले अर्थतन्त्रलाई नै क्षति पुर्याउने गतिविधि, संस्थागत कब्जा र अनियमिततामाथि भने राज्यले कडा कदम चाल्ने चेतावनी दिए। विगतमा बाध्यतावश व्यवसायीहरू राजनीतिक दबाबमा परेर काम गर्नुपरेको अवस्थालाई सरकारले बुझेको पनि उनले उल्लेख गरे।
सरकारले चुनावी वाचापत्रअनुसार नै काम गरिरहेको उल्लेख गर्दै उनले त्यसबाट दायाँ–बायाँ नजाने प्रतिबद्धता जनाए। साथै, उद्योगी–व्यवसायीलाई आफ्ना कमीकमजोरीहरूको समीक्षा गर्न, आन्तरिक लेखापरीक्षण गर्न र सुधार प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे। नीतिगत सुधार, सुशासन र आर्थिक सुदृढीकरण नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ। उनले अब व्यवसायीहरूले समस्या लिएर नेताको घर–घर धाउनुपर्ने अवस्था अन्त्य हुने दाबी पनि गरे।
