
इलाम । सूर्योदय नगरपालिका–१, गोर्खे बजारमा गर्भवती गाईको क्रूरतापूर्वक हत्या गरिएको घटना सार्वजनिक भएको छ। आइतबार बिहान गाईगोठ पुगेका दीपेश मोदी दम्पतीले गाईलाई रगताम्य अवस्थामा मृत फेला पारेका हुन्।
अन्य गाई र बाछाबाछी सुरक्षित रहेका बेला उक्त गाईको घाँटीमा पटक–पटक धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय र प्रहरीलाई खबर गरिएको थियो।
पशु चिकित्सकसहितको टोलीले पोस्टमार्टम गरी गाईको सद्गत गरेको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान तथा दोषीको खोजी कार्य जारी राखेको जनाएको छ।
घटनाप्रति सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ भने दोषीमाथि कारबाहीको माग गरिएको छ।
