खोला किनारका सुकुम्बासीले ‘सम्पन्न बस्ती’को स्वामित्व पाए

विराटनगर । विगतमा वर्षायाममा आकाश गडगडाउँदा विराटनगर–१२ मनलवाका ऋषिदेव समुदायका बासिन्दा त्रसित हुन्थे। नजिकैको खोलामा पानीको सतह बढ्नासाथ उनीहरू घर छाडेर सुरक्षित स्थानतर्फ सर्न बाध्य हुन्थे। हिजोसम्म खोलाको बगरमा सुकुम्बासी जीवन बिताइरहेका १४५ परिवार अहिले आफ्नै घरका मालिक बनेका छन्। तीमध्ये ८५ परिवार नयाँ घरमा बसाइसरेका छन् भने बाँकी ६० परिवार पनि आफ्नै घर पाउने प्रतीक्षामा छन्। उनीहरूका घरहरू तीव्र गतिमा निर्माण भइरहेको छ। सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यले सुकुम्बासीका लागि नमुना ‘सम्पन्न बस्ती’ निर्माण सम्भव भएको हो। प्रदेश सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्कीको पहलमा विराटनगर महानगरपालिकाले यो योजना अघि बढाएको हो, जसमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको महत्वपूर्ण सहयोग रहेको छ। सहारा नेपाल र ह्याविट्याट नेपालले पनि परियोजनामा साथ दिएका छन्। यस बस्तीका सबै सुकुम्बासी परिवारले प्रतिपरिवार १० धुरका दरले जग्गा आफैं खरिद गरेका छन् भने दातृ संस्थाहरूले एकै ढाँचाका घर निर्माण गरिदिएका छन्। एउटा घर निर्माण गर्न करिब ६ लाख ५० हजार रुपैयाँ खर्च भएको बताइएको छ। यहाँका घरहरू परम्परागत इँटाका मात्र नभई ह्याविट्याट नेपालको प्राविधिक सहयोगमा प्रशोधित बाँस र सिमेन्टको प्रयोग गरेर निर्माण गरिएका छन्।

सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि जीवन विकास लघुवित्तले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएको थियो। महानगरपालिका, ह्याविट्याट नेपाल र प्रदेश सरकारले घर निर्माणमा आवश्यक सहयोग गरेका छन्। नयाँ बस्तीमा व्यवस्थित शौचालय र स्नानगृहको व्यवस्था गरिएको छ। साथै, बालबालिकाका लागि खेलमैदान, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल तथा सामुदायिक भवन निर्माणको चरणमा छन्। प्रत्येक घरमा खानेपानी र विद्युत् सुविधा पुगेको छ भने टिनले छाएका छानाहरूले बस्तीलाई व्यवस्थित रूप दिएका छन्। विराटनगर महानगरपालिकाले यो मोडेललाई मनलवामा मात्र सीमित नराखी विस्तार गरिरहेको छ। महानगरका अनुसार वडा नं. ५ मा १०० परिवार र वडा नं. १९ मा ६० सुकुम्बासी परिवारका लागि यस्तै एकीकृत बस्तीहरू निर्माण भइसकेका छन्।