जाँचपास नहुँदा मालवाहक सवारीको चाप, १,४०० बढी गाडी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु आयात हुने वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ। भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्ने प्रयाससँगै अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी–फलफूल बाहेक अन्य सामग्रीको जाँचपास ठप्प भएको छ। गत वैशाख १५ गतेदेखि आयातकर्ता तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी नहुँदा समस्या झन् जटिल बनेको छ। यसको असरस्वरूप भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधनको लामो लाइन लागिरहेको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार दैनिक दुई सयभन्दा बढी मालवाहक सवारी थपिँदै गएकाले हाल करिब १,४०० सवारी जाँचपासको प्रतीक्षामा रोकिएका छन्। “हामी जाँचपास प्रक्रिया अघि बढाउन तयार छौँ, तर आयातकर्ताहरूले फाराम भर्ने र घोषणा गर्ने प्रक्रियामा सहभागिता जनाएका छैनन्,” उनले भने, “भन्सार विभागले आवश्यक समन्वय गरिरहेको छ र छिट्टै समस्या समाधान हुने अपेक्षा गरेका छौँ।”

सरकारले वैशाख १५ गतेदेखि आयात तथा निर्यात हुने सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने निर्णय गरेको थियो। तर, उक्त प्रावधानप्रति व्यवसायीहरूले असन्तुष्टि जनाउँदै आएका छन्। एकीकृत सुरक्षा भन्सार जाँचचौकी व्यवस्थापन गरिरहेको टीआरएस हिमालयन लजिस्टिक पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले भन्सार जाँचपास अवरुद्ध हुँदा भारतीय सडकसम्म सवारीसाधनको लाइन पुगेको बताए। “यो समस्या जतिसक्दो छिटो समाधान होस् भन्ने हाम्रो चाहना छ,” उनले भने। वीरगन्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ। वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले समस्या लामो समयसम्म रहँदा राज्य र व्यवसायी दुवैलाई घाटा हुने भएकाले तत्काल समाधान गर्न आग्रह गरेका छन्।

(रासस)