संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लागू, राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले दोस्रो पटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार जारी गरिएको हो। राष्ट्रपति पौडेलले यसअघि सरकारले सिफारिस गरेको सोही अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए। तर सरकारले कुनै संशोधन नगरी सोमबार पुनः पठाएपछि अध्यादेश जारी गरिएको हो। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणीकरणका लागि पठाएको उक्त अध्यादेश २०८२ असार २५ गते राष्ट्रपति पौडेलले फिर्ता गरेका थिए। त्यसैगरी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमाणीकरणका लागि पठाएको अध्यादेश पनि २०८२ मंसिर २ गते राष्ट्रपति पौडेलले फिर्ता गरिदिएका थिए।