काठमाडौँ । काठमाडौँको भेडासिंहस्थित एक चाँदी पसलमा लुटपाटको प्रयास भएको छ। वैशाख १७ गते पसलभित्र प्रवेश गरेका दुई जनाले पेस्तोल देखाउँदै लुट्ने प्रयास गरेका हुन्। सीसीटीभी फुटेज अनुसार लुटेराले सटर बन्द गरेर लुटपाट गर्ने प्रयास गरेका थिए। तर पसलमा बसिरहेकी युवतीले कडा प्रतिकार गरेपछि उनीहरूको योजना विफल भएको देखिन्छ। घटनाका क्रममा लुटेरा र युवतीबीच हातपातसमेत भएको थियो। फुटेजमा एक जना युवक पहिला पसलमा प्रवेश गरी पेस्तोल देखाएको देखिन्छ। त्यसबेला पसलमा बसिरहेकी युवती मोबाइल चलाइरहेकी थिइन्। केही क्षणमै अर्को युवक पनि पसलमा प्रवेश गरेपछि दुवैले आक्रमण प्रयास गरेका थिए। तर युवतीले कुर्सीले प्रहार गर्दै प्रतिकार गरेपछि लुटेराहरू सटर खोलेर भागेको देखिन्छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार युवतीको प्रतिकारका कारण लुटपाट हुन पाएन। घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी भइरहेको उनले बताए। वैशाख १७ गते दिउँसो करिब २ बजे भएको उक्त घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको छ। प्रहरीले लुटेराको पहिचान गर्ने प्रयास जारी राखेको जनाएको छ। यसअघि चार महिनाअघि न्युरोड क्षेत्रमा पनि यस्तै समूहले ४ लाख रुपैयाँ नगद र तीन थान मोबाइल लुटेको अनुसन्धानमा खुलेको छ। तीमध्ये दुई वटा आइफोन रहेको बताइएको छ। सोही समूह नै पछिल्लो घटनामा संलग्न भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
