विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार बिहान करिब ११ः४० बजे प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आषिक विक र १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय रोकश खड्कालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ।
