केपी शर्मा ओली द्वारा सुदूरपश्चिम सांसदसँग छलफल

काठमाडौँ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज सुदूरपश्चिम प्रदेशका आफ्ना सांसदहरूसँग महत्वपूर्ण छलफल गर्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बिहान ११ बजे ११ जना सांसदसँग बैठक बोलाएका हुन्। संसदीय दलको नेता परिवर्तनको विषय पछिल्लो समय उठेपछि अध्यक्ष ओलीले सामूहिक छलफलमार्फत निष्कर्षमा पुग्ने तयारी गरेका छन्। यसअघि तीन सांसदले नेतृत्व परिवर्तनको माग गर्दै शीर्ष तहमा परामर्श गरिसकेका थिए। दलको नेताका लागि उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल आकांक्षीका रूपमा देखिएका छन्। बैठकमा नेतृत्व चयनसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरका विषयमा समेत गम्भीर छलफल हुने जनाइएको छ।

विशेषगरी नेपाल कम्युनिस्ट पार्टी सँग सहकार्यको सम्भावना र त्यसको सुरुवात सुदूरपश्चिमबाट गर्ने प्रस्तावमाथि पनि नेतृत्व तहमा विचार भइरहेको छ। यसैबीच, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग अघि सारेका छन्। हाल सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन्।