बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सुनसरी  सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तीनकुनेस्थित मिलिजुली स्कुल नजिक शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सन्तोष श्रेष्ठका अनुसार प्र १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल बिहान करिब ४:३० बजे कालाबन्जार–धरान सडकखण्डमा रहेको कल्भर्टमा ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मनिष बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ३० वर्षका थिए। मृतकको साथमा फेला परेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)का आधारमा पहिचान खुलेको हो।

प्रहरीका अनुसार कल्भर्टमा ठोक्किएपछि मोटरसाइकल करिब ३० फिट तल पानी बगिरहेको पैनीमा खसेको थियो। स्थानीयले ठूलो आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए।

नेपाल प्रहरीको टोली घटनास्थल पुग्दा चालक पैनीमा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए भने मोटरसाइकल पनि पैनीमै लडिरहेको अवस्थामा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति दुर्घटनाको मुख्य कारण हुन सक्ने अनुमान गरिएको छ। चालकले अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दिवश कुँवर नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।