एसईई पूरक परीक्षा असार १ गतेदेखि हुने

विराटनगर ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा नन–ग्रेडेड (एनजी) भएका विद्यार्थीका लागि पूरक परीक्षाको मिति तय गरेको छ। बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको हो।

बोर्डका अनुसार यो परीक्षा असार ९ गतेसम्म चल्नेछ। यस वर्षको एसईईमा नियमिततर्फ सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये १ लाख ४६ हजार ५०७ जना नन–ग्रेडेड भएका छन्। उनीहरूलाई नै लक्षित गरी यो परीक्षा सञ्चालन गर्न लागिएको हो। यस वर्ष २ लाख ८४ हजार १६० विद्यार्थीले मात्र ग्रेड प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको विस्तृत कार्यतालिका र परीक्षा केन्द्रबारेको जानकारी छिट्टै सार्वजनिक गर्ने बताएको छ।