पैनीमा वृद्ध मृत फेला

झापा । झापाको गौरादहमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारी स्थायी घर भएका ६० वर्षीय बाबुराम हस्दा मृत फेला परेका हुन् ।हस्दालाई आइतबार साँझ गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा घोप्टो परेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानीय चक्रबहादुर राई र शिरुलाल ताजपुरियाले उनलाई जीवित छन् कि भनेर तत्काल पैनीबाट बाहिर निकालेर हेर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

हस्दा विगत ७ वर्षदेखि गौरादह–२ लोदावारीस्थित छोरी सविना हस्दाको घरमा बस्दै आएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि उर्लाबारी मंगलबारे अस्पताल मोरङ पठाइएको जनाएको छ ।