काठमाडौं — प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई संसदको प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराउने प्रतिबद्धता जनाएको छ।
विपक्षी दलहरूले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीले नियमित रूपमा सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी ले प्रधानमन्त्रीलाई छिट्टै संसदमा उपस्थित गराउने पहल गर्ने बताएका हुन्।
संसद् नियमावलीअनुसार संसद सञ्चालन भइरहेको अवस्थामा प्रत्येक पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने व्यवस्था छ। तर पछिल्ला केही सातादेखि प्रधानमन्त्री उक्त कार्यक्रममा सहभागी नभएको भन्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।
केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री उपस्थित नभए मंगलबारको बैठकसमेत अवरुद्ध गर्ने चेतावनी दिएको थियो।
संसद् बैठक जारी रहेकै बेला आकस्मिक, विशेष र शून्य समय सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा आउनेबारे सत्तापक्षबाट स्पष्ट जानकारी नआए आजको बैठक पनि अवरुद्ध गर्ने तयारी रहेको नेकपा प्रमुख सचेतक युवराज दुलाल ले जानकारी दिए।
दुलालले नियमावलीको बाध्यकारी व्यवस्थाअनुसार प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनैपर्नेमा विपक्षी दलहरूको जोड रहेको बताए। उनले प्रधानमन्त्रीबाटै विधिको उल्लंघन भइरहेको आरोप लगाउँदै विधिको शासन कमजोर बन्ने टिप्पणी गरे।
उनका अनुसार विपक्षी दलहरूले आगामी जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट सबै सांसदले शान्तिपूर्ण वातावरणमा सुन्न पाउने अवस्था बनाउन सरकार पक्षलाई आग्रह गरेका छन्।
विपक्षीले प्रधानमन्त्री संसदमा कहिले उपस्थित हुने भन्ने स्पष्ट मिति माग गरे पनि रास्वपाले हालसम्म समय तोक्न सकेको छैन। प्रमुख सचेतक बुर्लाकोटीले सरकारसँग छलफल गरेर जवाफ दिने आश्वासन दिएका छन्।
प्रधानमन्त्री उपस्थित हुने दिनसम्म संसद् बैठक स्थगन गर्न विपक्षीले माग गरे पनि सदनको नियमित कार्यसूची भने अघि बढाइएको छ।
