विराटनगर । पूर्वी नेपाल केन्द्रित मौसमीय प्रणाली सक्रिय भएसँगै आज कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन र वर्षाको सम्भावना देखिएको छ । विशेषगरी कोशी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्ने जोखिम बढेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक विकसित न्यूनचापीय क्षेत्रको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली हुने अवस्था बनेको हो ।
विभागले कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ । तराई क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रहनेछ ।
त्यसैगरी, कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा अपराह्नपछि हावाहुरी चल्न सक्ने सम्भावना रहेको विभागको भनाइ छ । यसले दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा आंशिक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
रातिको समयमा पनि कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा जारी रहने पूर्वानुमान गरिएको छ ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी कायम रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।
