काठमाडौं, जेठ १५
पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण आज (बिहीबार) देशभर मौसम बदली रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हाल कोशी प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसोतिर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली थप बढ्ने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। तराईका केही भू–भागमा भने गर्मी कायम रहने अनुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर बदली कायमै रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसहित अन्य प्रदेशका थोरै क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
- यसैबीच, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
