सातै प्रदेशमा वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं, जेठ १७ — देशभर आज (शनिबार) मौसम बदली भई सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभावका कारण मौसम प्रभावित बनेको जनाएको छ।महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विशेषगरी कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वी क्षेत्रका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।शनिबार दिउँसो देशका पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।महाशाखाले वर्षासँगै तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।मौसमविद्हरूले चट्याङ, हावाहुरी तथा वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन्।