लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्न सक्ने

विराटनगर, जेठ १८ — देशभर पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यून चापीय रेखाको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।

विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने लुम्बिनी प्रदेशको तराईसहित अन्य केही क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।

मौसममा आएको यस परिवर्तनका कारण वर्षा, चट्याङ र हावाहुरीबाट हुन सक्ने जोखिमप्रति सचेत रहन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।