वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं, १९ जेठ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। उनलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले जानकारी दिएका छन्।

पर्सा जिल्ला अदालतले लिखत किर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले गत ८ जेठमा पक्राउ पुर्जी जारी गरेपछि प्रहरी उनको खोजीमा रहेको थियो।

प्रहरीका अनुसार मेयर सिंहसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए। जाहेरीमा नक्कली कागजातको प्रयोग गरी अर्काको छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर नागरिकता बनाइदिएको आरोप लगाइएको छ।

उक्त आरोपका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ परेका मेयर सिंहमाथि अब कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।