पहाडमा वर्षा, तराईमा बढ्दो गर्मी : सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं,

पश्चिमी भू–भाग नजिक उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने तराईका जिल्लामा तापक्रम बढ्दै गएको छ।

हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने मौसमविद्को अनुमान छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना बढी रहेको बताइएको छ।

यता, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम क्रमशः बढ्ने संकेत देखिएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूले वर्षा र चट्याङको जोखिम भएका क्षेत्रमा सतर्क रहन तथा अत्यधिक गर्मी हुने तराई क्षेत्रमा पर्याप्त पानी पिउन, घामबाट बच्ने उपाय अपनाउन र आवश्यक परे मात्र बाहिर निस्कन सुझाव दिएका छन्।