मोरङ सभापतिमा भरत शर्मा कडेलको उम्मेदवारी घोषणा, संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा

विराटनगर

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै कडेलले २०८२ सालको निर्वाचन पार्टीका लागि चुनौतीपूर्ण परीक्षा भएको उल्लेख गरे। उक्त निर्वाचनका क्रममा मोरङमा पार्टीको जनाधार विस्तार, संगठन सुदृढीकरण तथा उम्मेदवारहरूको विजयका लागि आफूले सक्रिय भूमिका निर्वाह गरेको उनको भनाइ छl

उनका अनुसार निर्वाचन अभियानका बेला गाउँदेखि शहरसम्म पुगेर पार्टीको पक्षमा जनमत निर्माण गर्ने, कार्यकर्तालाई एकीकृत राख्ने तथा संगठन विस्तारका लागि अभियान सञ्चालन गर्ने कार्यमा आफू निरन्तर सक्रिय रहे। हस्ताक्षर संकलन अभियानमार्फत हजारौँ नयाँ सदस्यलाई पार्टीसँग जोड्न सफल भएको दाबी पनि उनले गरे।

“नेतृत्व भाषणले होइन, कठिन समयमा देखाएको साहस र जिम्मेवारीले मापन हुन्छ,” कडेलले भने, “संगठन अप्ठ्यारो अवस्थामा हुँदा पनि मैले पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिएर काम गरेको छु।”

कडेलले आगामी कार्यकालमा मोरङको संगठनलाई अझ बलियो बनाउने, नयाँ पुस्तालाई नेतृत्वमा अवसर प्रदान गर्ने, प्रत्येक कार्यकर्ताको सम्मान सुनिश्चित गर्ने तथा जिल्लामा पार्टीको प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिहरूसँग मत र विश्वासको अपिल गर्दै उनले आफूलाई पुनः एकपटक जिल्ला सभापतिको जिम्मेवारी दिन आग्रह गरेका छन्। कार्यकर्ताको संघर्ष, योगदान र समर्पणको सम्मान गर्दै मोरङलाई संगठनात्मक दृष्टिले देशकै उत्कृष्ट जिल्लामध्ये एक बनाउने लक्ष्य पनि उनले सार्वजनिक गरेका छन्।

“हिजो संघर्षमा सँगै थियौँ, आज निर्णयमा सँगै बनौँ, र भोलि सफलताको इतिहास पनि सँगै लेखौँ,” भन्दै कडेलले आफ्नो उम्मेदवारीलाई संगठनको निरन्तरता, एकता र सुदृढीकरणसँग जोडेर प्रस्तुत गरेका छन्।

रास्वपा मोरङको आगामी जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।