विराटनगर । राष्ट्रिय दुग्ध दिवस २०८३ तथा विश्व दूध दिवसको अवसरमा दुग्ध क्षेत्रको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष तथा सूर्योदय डेरी उद्योगका सञ्चालक मनोजकुमार यादव सम्मानित भएका छन् ।कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले बिहीवार काठमाडौँमा आयोजित विशेष समारोहमा यादवलाई सम्मानपत्र प्रदान गरेकी हुन् ।
यादवलाई दुग्ध उत्पादन, प्रशोधन तथा बजार विस्तारमार्फत नेपाली दुग्ध उद्योगलाई सुदृढ बनाउन खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल ले बताएका छन् ।
विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रीले ‘परम’ ब्रान्डमार्फत दूध, दही, घ्यू, पनिर, बटर लगायतका दुग्धजन्य उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । उद्योगले स्थानीय किसानसँग प्रत्यक्ष सहकार्य गर्दै दूध संकलन, रोजगारी सिर्जना र दुग्ध व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ ।
सम्मान ग्रहणपछि यादवले दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउने, किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने तथा उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य वस्तु उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
उनले प्राप्त सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण दुग्ध व्यवसायी, किसान र उद्योग क्षेत्रको सामूहिक मेहनतको परिणाम भएको उल्लेख गर्दै यसले आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताएका छन् ।
