मकै बोकेको ट्याक्टरबाट लडेर मजदुरको मृत्यु

सुनसरी,

सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–देवानगन्ज भित्री सडकखण्डमा मकै बोकेको ट्याक्टरबाट लडेर एक मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार हरिनगरबाट देवानगन्जतर्फ जाँदै गरेको स १ त ५४८८ नम्बरको ट्याक्टरबाट लडेर हरिनगर–४ निवासी ४१ वर्षीय विनोद मेहता गम्भीर घाइते भएका थिए। घाइते मेहतालाई उपचारका लागि घर पुर्‍याइएपछि उनको मृत्यु भएको जानकारी शनिबार प्रहरीले प्राप्त गरेको जनाएको छ।

घटनापछि प्रहरीले ट्याक्टर र चालक हरिनगर–४ निवासी ३२ वर्षीय सूर्यनारायण साह लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा ट्याक्टर तीव्र गतिमा सञ्चालन गरिएका कारण दुर्घटना भएको खुल्न आएको प्रहरीले जनाएको छ।