विराटनगर
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा मौसमको मिश्रित अवस्था रहनेछ। हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेकाले लामो समयदेखिको सुख्खापन कम हुन र कृषि क्षेत्रमा लाभ पुग्न सक्ने अपेक्षा गरिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ।
यद्यपि, तराईका केही क्षेत्रमा गर्मी र तातो हावाको प्रभाव कायम रहने विभागले जनाएको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा हुने अनुकूल वातावरण बनेको छ। वर्षाले तापक्रम केही घटाएर जनजीवनलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।
