ग्रीनल्याण्ड कलेज विराटनगरद्वारा ७५० विद्यार्थीको स्वागत तथा अभिमुखीकरण

विराटनगर, २६ जेठ

ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ मा भर्ना भएका ७५० जना विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विज्ञान तथा व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा स्वागतसँगै अभिमुखीकरण गरिएको हो।

कार्यक्रममा सहभागी हुँदै शिल्पा निराला कार्की ले विद्यार्थीहरूलाई असल व्यक्ति बन्ने लक्ष्यका साथ अध्ययनमा लाग्न आग्रह गर्नुभयो। कक्षा ११ र १२ मा गरिएको मेहनतले उज्ज्वल भविष्य निर्माण गर्ने बताउँदै उहाँले ग्रीनल्याण्ड कलेजले विद्यार्थीहरूको भविष्यलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।

कलेजका प्रिन्सिपल दिनेश दाहाल ले ‘प्लस टु’ अध्ययनले विद्यार्थीको भविष्य निर्धारण गर्ने बताउनुभयो। आगामी अवसरहरूको ढोका खोल्न यी दुई वर्ष अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले कलेजको शैक्षिक वातावरणको सदुपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। साथै कलेजको गौरवशाली इतिहासलाई निरन्तरता दिन पनि विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो।

कार्यक्रममा अनिष भट्टराई, कलेजका भाइस प्रिन्सिपल ईश्वरीप्रसाद मिश्र, कक्षा ११ व्यवस्थापन संकायतर्फको प्रवेश परीक्षामा प्रथम हुने समीक्षा मुडियारी तथा अभिभावक हरिनारायण चौधरी ले ग्रीनल्याण्डको शैक्षिक वातावरण उत्कृष्ट रहेको धारणा व्यक्त गरेका थिए।

स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। ग्रीनल्याण्ड कलेजमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयमा अध्ययन–अध्यापन हुँदै आएको छ।